काठमाडौं, ८ पुस । नयाँ संविधान निर्माणमा दबाबस्वरूप
विद्यार्थी संगठनले आज व्यंग्यात्मक शैलीमा ‘सुतिरहेका सभासद्लाई ब्युँझाएका’ छन् ।
उनीहरूले आज नयाँ संविधान निर्माण गर्न
एक महिना मात्र बाँकी रहेको अवस्थामा व्यंग्यात्मक शैलीमा संविधानसभा भवन अगाडि त्यसप्रति
खबरदारी गरेका हुन् । विद्यार्थीले सभासद्को अभिनय गरी सडकमा सुतेर बिगुल फुकी ब्युँझाएका
थिए । १ देखि ६०१ नम्बरको सभासद् बनी उनीहरू सडकमा सुतेका थिए । करिब पाँच मिनेटसम्म
‘देश
बिग्रँदै छ, संविधान
नबन्ने खतरा छ, हामीसँग
१ महिना मात्र समय बाँकी छ, बिउँझ’ भनी सभासद्लाई उठाएका थिए ।
अनेरास्ववियुकी महासचिव नविना लामाले एक
महिना मात्र बाँकी रहँदा पनि सभासद्का साथै राजनीतिक दलका नेताहरू अझै जिम्मेवार नभएकोले
व्यंग्यात्मक शैलीमा विगुल फुकेर संविधान निर्माणमा दबाब दिएको बताइन् । ‘संविधान बनाउन आजदेखि एक महिना मात्र बाँकी
छ’, उनले
भनिन्, ‘तापनि, सभासद् र दलका नेताहरू अझै संविधान निर्माणमा
गम्भीर बनेका छैनन् । त्यसैले विरोधस्वरुप सडकमा सुतेका सभासद्लाई ब्युँझाएका हौं ।’
अनेरास्ववियुको अगुवाइमा भएको कार्यक्रममा
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु छैठौं, अखिल पाँचौं पनि सहभागी भएको अनेरास्ववियुका प्रचार विभाग प्रमुख अशेष
घिमिरेले जानकारी दिए ।
महासचिव लामा १ नम्बरकी सभासद् बनेकी थिइन्
भने नेविसंघका प्रवक्ता यूपी लामिछाने ५ सय ८६ नम्बरका सभासद् बनेका थिए । यसअघि अनेरास्ववियुले
संविधान निर्माणमा दबाबका लागि सभासद्लाई ‘सभासद्ज्यू नमस्कार, तपाईं संविधान निर्माणको काममा लागिरहनुभएको
छ ! माघ ८ भित्र नयाँ संविधान आउँछ त ?’ भनेर तीन दिनसम्म एसएमएस अभियान सञ्चालन
गरेको थियो । त्यस्तै, पाँच लाख हस्ताक्षर संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई बुझाइएको थियो
।
संघका प्रवक्ता लामिछानेले संविधान बनाउन
दबाबका लागि यही पुस १३ गते नागरिकसभासहित सडक बहस गर्ने जानकारी गराए ।